चैत्र नवरात्र र रामनवमीको महिमा

By Pandit Narayan Dahal 13 Oct 2025 Ram Nawami, Chaite Dashain, Lord Ram, Shree Ram

चैत्र नवरात्र र रामनवमीको महिमा

असोज माघ, चैत्र तथा असार यी महिनामा पर्ने नवरात्र मध्ये चैत्र नवरात्र पनि हिन्दू धर्ममा विशेष महत्त्व राख्ने नौ दिनको पर्व हो जसलाई वासन्तिक नवरात्र पनि भनिन्छ। यस नवरात्रमा भगवती दुर्गाका शैलपुत्री ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री यी नौ रूपहरूको उपासना गरिन्छ।

चैत्र नवरात्र वर्षको दुई प्रमुख नवरात्रमध्ये एक हो । अर्को आश्विन शुक्ल पक्षमा पर्ने शारदीय नवरात्र हो । चैत्र नवरात्र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म मानिन्छ । यो नवरात्र साँस्कृतिक महत्त्वको पर्व पनि हो ।

"चैत्रे शुक्ले नवाहानि नित्यं देव्या महोत्सवः।

धर्मार्थकाममोक्षाणां लाभो भवति पूजनात्॥"

अर्थ: चैत्र शुक्ल पक्षका नौ दिनसम्म देवीको आराधना गरेमा धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ।

यसै नवरात्रको नवमी तिथिमा श्रीरामको अवतार भएको मानिन्छ । चैते दशैं चैत्र शुक्ल अष्टमीका दिन मनाइन्छ । यो दिन दानवीय शक्ति माथि दैवी शक्तिको विजय भएको विश्वास रहेको हुनाले विजय उत्सवको रूपमा पनि मनाइन्छ । यी चारै नवरात्रहरुमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुमा विशेष रुपमा पूजा अर्चना गर्ने गरिन्छ ।

रामनवमी सनातन हिन्दू धर्मावलम्वीहरुको महत्वपूर्ण पर्व हो । यो पर्व चैत्र महिनाको शुक्लपक्षको नवमी तिथिमा पर्दछ ।धार्मिक ग्रन्थ रामायणका अनुसार यो चैत्र नवमीको दिनलाई भगवान श्री रामको जन्मदिनको रुपमा मानिन्छ । यो पर्व पनि चैत्र महिनाको वासन्तीय नवरात्रमा पर्ने भएकोले यस दिन भगवान श्री रामका साथै जगज्जननी श्री भगवती माताको पनि पूजा अर्चना गरी मनाइन्छ । त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन अयोध्यानगरका राजा दशरथ र महारानी कौशल्याका पुत्रका रुपमा जन्मनु भएका श्रीरामचन्द्र वास्तवमा भगवान् विष्णुको सातौं अवतार हुनुहुन्छ ।

वाल्मीकि रामायणमा भगवान् रामको जन्म प्रसङ्ग बालकाण्डमा विस्तारपूर्वक वर्णन गरिएको छ । राम नवमीको सन्दर्भमा निम्न श्लोकहरू प्रसिद्ध छन्:

१. भगवान् रामको जन्म समयको वर्णन

ततो यज्ञे समाप्ते तु ऋतूनां षट्समात्ययु:।

ततश्च द्वादशे मासे चैत्रे नावमिके तिथौ॥

नक्षत्रेऽदितिदैवत्ये स्वोच्चसंस्थेषु पञ्चसु।

ग्रहेषु कर्कटे लग्ने वाक्पताविन्दुना सह॥

प्रोद्यमाने जगन्नाथं सर्वलोकनमस्कृतम्।

कौसल्या अजनयद्रामं सर्वलक्षणसंयुतम्॥ (बालकाण्ड, सर्ग १८, श्लोक ८-१०)

अर्थ:

यज्ञ सम्पन्न भएपछि छ ऋतुहरू बिते। त्यसपछि चैत्र महिनाको नवमी तिथिमा, अदिति देवीको स्वामी भएको पुनर्वसु नक्षत्रमा, कर्कट लग्नमा, सूर्य, मंगल, शनि, बृहस्पति र शुक्र आफ्ना उच्च स्थानमा रहँदा, वाणीका स्वामी बुधले चन्द्रमासँग मिलेर उदय हुँदै गर्दा, समस्त लोकका ईश्वर, सबै प्राणिहरूद्वारा वन्दित भगवान् रामले कौसल्यादेवीबाट प्रकट हुनुभयो ।

२. भगवान् रामका लक्षणहरूको वर्णन :

काकपक्षधरः श्रीमान् भ्राजमानः शशी यथा।

कौसल्या शुशुभे तेन पुत्रेणामिततेजसा॥ (बालकाण्ड, सर्ग १८, श्लोक ११)

अर्थ:

भगवान् राम काकपक्ष (कालो केश) सहित, चन्द्रमा जस्तै उज्यालो, तेजस्वी र समस्त लक्षणले युक्त हुनुहुन्थ्यो। यस्तो पुत्र पाउँदा कौसल्या देवी अत्यन्त सुशोभित हुनुभयो।जुन समयमा पृथ्वीमा दानवीय शक्ति बढ्न थाल्दछ त्यसै वेला श्री विष्णु विभिन्न अवतार लिएर यस धर्तीमा आउनुहुन्छ भन्ने शास्त्र वचन रहेको छ ।

श्रीरामचन्द्रको अवतार हुनुभन्दा पहिले सम्पूर्ण लोकका देवगण, ऋषिगण तथा ब्राह्मणवर्ग आदि सबै लङ्काधिपति रावणको अत्याचारबाट आक्रान्त थिए । अतः रावण आदि राक्षसहरूको अत्याचारबाट सबैलाई मुक्त गर्न भगवान श्री विष्णुले रानी कौशल्याको गर्भबाट अवतार लिनुभयो । दशरथ राजाकी माइली पत्नी कैकेयीबाट भरत र कान्छी पत्नी सुमित्राबाट दुई पुत्र लक्ष्मण र शत्रुघ्नको पनि जन्म भएको कथा रामायण आदि ग्रन्थमा पाइन्छ । भाइहरूको शिक्षादिक्षा गुरु वशिष्ठबाट भयो । पछि ऋषि विश्वामित्रले आफ्नो यज्ञको रक्षा व्यवस्था मिलाउन आफ्नो आश्रममा लिएर गएको बेला जनक नन्दिनी सीताको स्वयंम्बरको उद्घोष भयो । सो स्वयंवरमा कसैले नसकेको भगवान शिवको धनु श्रीरामले सजिलै संग उठाइ ताँडो चढाई उठाउँदा धनु खण्डित गरी सीतासंग विवाह भएको उल्लेख रामायणमा पाइन्छ ।

श्रीरामको लोकप्रियता र समय पनि भएकोले राजा दशरथले श्रीरामलाई राज्याभिषेक गरिदिने निश्चय गर्दा राजाकी माइली रानीको वाचा पूरा गर्न श्रीरामलाई चौध वर्षको वनवास पठाउनुपर्ने हुन्छ । पिताको वचन शिरोपन गर्देै श्रीराम साथमा सीता तथा भाइ लक्ष्मणसँगै वनवास जानुपर्यो । वनवासको अवधिमा माता सीतालाई रावणले हरण गरेर लैजान्छ । यही बेला रामको भेट हनुमान् तथा राजा सुग्रीवसंग हुन्छ र यही वानर सेनाको सहायताले श्रीरामले माता सीताको अस्मिता रक्षा गर्न तथा रावणको असुरमुखी व्यवहारबाट संसारलाई बचाउन भगवान श्रीरामले रावणको वध गर्नुभएको थियो । रावणको वध गर्न देवी दुर्गाले श्रीरामलाई सहयोग गर्नुभएको थियो । चैते दशैंको दिन भगवान श्रीराम आफनो चौध वर्षै वनवास सकेर सकुशल अयोध्या आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा चैते दसैँ मनाइएको भन्ने मान्यता पनि रहेको छ । श्रीराम अवतारमा भगवान श्रीरामले सदैव मर्यादा पुरुषका रुपमा एक सदाचारी आदर्श चरित्रलाई स्थापित गर्नु भयो । धार्मिक ग्रन्थ रामायणमा श्रीरामलाई आदर्श एवं सद्गुणका खानी, धर्म परायण, पितृभक्त, गुरुभक्त, भातृप्रेमी, साधु संरक्षक, पवित्रताका प्रतिमूर्तिका साथै आदर्श पुरुषको रुपमा वर्णन गरिएको छ ।

रामनवमीेको दिन वैदिक हिन्दुधर्मावलम्बी भक्तहरू भगवान् श्रीरामको पूजा, आराधना, कीर्तन र नाम नामको जप गरेर व्रत बस्ने गर्दछन् ।

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.