पृथ्वीमा जहाँसम्म
कार्तिक शुक्लपक्षकी पापनाशिनी हरिबोधिनी एकादशी आउँदैन, त्यहाँसम्म गङ्गा–भागीरथी
आदि तीर्थहरू अधुरा जस्ता रहन्छन् भन्ने भाव:
तावत् गर्जन्ति
तीर्थानि गङ्गाभागीरथी क्षितौ ।
यावन् नायाति
पापघ्नी कार्तिके हरिबोधिनी ॥
यस श्लोकले
व्यक्त गर्छ । यसरी यो एकादशीको महान् शक्ति र पवित्रताप्रति नमन गरिएको छ ।
देवोत्थान एकादशीको
धार्मिक अर्थ
भगवान् श्रीकृष्णले युधिष्ठिरलाई भनेअनुसार — कार्तिक महिनाको शुक्लपक्षको प्रबोधिनी (हरिबोधिनी) एकादशीका दिन भगवान् विष्णु योगनिद्राबाट जाग्रत बन्नुहुन्छ, त्यसैले यस दिनलाई देवोत्थान एकादशी पनि भनिन्छ ।
यस व्रतको फल असाधारण छ — हजार अश्वमेध यज्ञ र सात सय राजसूय यज्ञ बराबरको पुण्य प्राप्त हुन्छ ।भक्तिपूर्वक उपवास गर्नेले ऐश्वर्य, बुद्धि, राज्य, र समृद्धि पाउँछ । कार्तिक महिनाभरि भगवान् जनार्दनलाई तुलसीपत्र र पुष्प अर्पण गरी आराधना गर्नेले असीम पुण्य पाउँछ । तुलसीको दर्शन, स्पर्शन, ध्यान, नामस्मरण, अर्चन, सेचन र नित्यपूजन गर्नेले कोटी–सहस्र युगसम्म पुण्यफल पाउँछ ।
तुलसी विवाह
र यसको परम्परा :
यही दिन घरआँगनमा
मण्डप बनाएर तुलसी विवाह गर्ने प्रचलन छ । यस अवसरमा नवग्रह र मातृकाको पूजा गरिन्छ
। तुलसीलाई सेतो वस्त्र, फुलमाला, पछ्यौरा र गहना लगाइन्छ । भव्य मण्डपमा विष्णुको
प्रतीकका रूपमा निगालाको लिङ्ग गाडिन्छ र तुलसी र शालिग्राम विवाह सम्पन्न गरिन्छ ।
तुलसीको महिमा
यसरी गाइएको छ —
“तुलसी त्वं
जगन्माता, तुलसी त्वं जगत्पिता।”
अर्थात् तुलसी माता सम्पूर्ण जगत्की आमा र पिता हुन् । तुलसीको मठ भएको घर देवालय वा तीर्थ समान हुन्छ । तुलसीमा देवदेवीहरू निवास गर्छन् । तुलसीको सुगन्धले वातावरण पवित्र बनाउँछ र त्यस्तो घरमा यमदूत प्रवेश गर्न सक्दैनन् ।
गरुड पुराणमा भनिएको छ — कार्तिक महिनामा भगवान् विष्णुलाई एउटा तुलसीपत्र अर्पण गरे पनि दश हजार गोदानको पुण्य प्राप्त हुन्छ।”
विज्ञानको दृष्टिले
तुलसी :
विज्ञानले पनि तुलसीलाई बहुमूल्य औषधि मानेको छ । तुलसीको पात, डाँठ वा फुलको रसले रुघाखोकी, औलो आदिको निवारण गर्छ ।तुलसीको रस शरीरमा लगाउँदा लामखुट्टे टोक्दैनन् । तुलसीयुक्त पञ्चामृतमा जीवाणु टिक्न सक्दैनन् । सर्प, बिच्छी आदिले तुलसीको नजिक बस्न सक्दैनन् । तुलसी नचढाई शालिग्रामको पूजा पूर्ण हुँदैन । तुलसीको सुगन्धले श्वासप्रश्वास सम्बन्धी रोगमा लाभ दिन्छ । मृत व्यक्तिलाई तुलसीजल दिएमा आत्मालाई शान्ति मिल्ने विश्वास छ । दाहसंस्कारमा तुलसीका काठ प्रयोग गर्दा वातावरण शुद्ध रहन्छ ।
हरिबोधिनीको
दार्शनिक अर्थ :
‘हरि’ शब्दको लाक्षणिक अर्थ विवेक हो — सही–गलत, धर्म–अधर्म, गुण–दोष छुट्याउने चेतना नै हरि हो । त्यो विवेक वा परमार्थभाव जाग्रत हुने दिन भएकाले यस एकादशीलाई “हरिबोधिनी” — अर्थात् हरिको बोध गराउने एकादशी भनिएको हो ।
वृन्दा–तुलसी
र शालिग्रामको कथा :
पुराण अनुसार,
कालनेमि नामक दैत्यले आफ्नी छोरी वृन्दालाई जालन्धरसँग विवाह गरिदिएका थिए । जालन्धर
समुद्र मन्थनका बेला भगवान् महादेवको पसिनाबाट उत्पन्न भएका दानव थिए । ब्रह्माबाट
वर पाएका कारण जालन्धरलाई जबसम्म उनकी पत्नी वृन्दा सती रहन्छिन्, तबसम्म उनलाई कसैले
मार्न सक्दैनथ्यो ।
जालन्धरले देवताहरूलाई पराजित गरेपछि, भगवान् विष्णुले उनलाई रोक्न उपाय खोज्नुभयो । उहाँले जालन्धरकै रूप लिएर वृन्दाको सतीत्व भङ्ग गर्नुभयो । त्यसपछि इन्द्रले जालन्धरको वध गरे । यो थाहा पाएपछि वृन्दाले विष्णुलाई श्राप दिइन् — “तिमी कालो ढुङ्गा बन।” त्यस श्रापले भगवान् शालिग्राम र वृन्दा तुलसी भइन् । त्यसैबेलादेखि विष्णु र तुलसीको प्रतीकात्मक विवाहको परम्परा सुरु भयो ।
निष्कर्ष :
हरिबोधिनी एकादशी केवल धार्मिक पर्व होइन, यो विवेक, परोपकार र चेतनाको जागरण गर्ने अवसर हो । यस दिन भगवान् हरि (विवेक) जागा हुन्छन् र मानव हृदयमा धर्म, भक्ति र ज्ञानको पुनर्जागरण हुन्छ ।