घटस्थापना वा जमरा राख्ने शास्त्रीयविधि र यसको धार्मिक महत्त्व

By Pandit Narayan Dahal 7 Jan 2026 Dashain, Durgapuja, Ghatasthapana, Nawadurga, Nawaratri

घटस्थापना वा जमरा राख्ने शास्त्रीयविधि र यसको धार्मिक महत्त्व

आश्विन शुक्ल नवरात्र प्रारम्भ हुने प्रथम दिनलाई घटस्थापना वा जमरा राख्ने दिन भनिन्छ। यस दिन देवीदुर्गाको आवाहन, कलशस्थापन तथा नवदुर्गा-पूजनको शुभारम्भ गरिन्छ। आश्विन शुक्ल प्रतिपदादेखि विशेषतः दसैँ पर्वको आधिकारिक सुरुवात हुन्छ। शास्त्रानुसार यस दिन विधिपूर्वक घटस्थापना नगरी नवरात्र-दुर्गा-पूजन प्रारम्भ हुँदैन।

घटस्थापनाको विधिः

शुभ लग्नानुसार (प्रातःकाल, विशेषतः प्रतिपदा तिथिको मध्याह्नपूर्वकाल) शुद्ध स्थानमा वेदी निर्माण गरिन्छ। लिपपोत गरी चोख्याइएको शुद्ध स्थान वा मन्दिरमा घटस्थापना गर्नुपर्छ प्रारम्भमा दीपकलशगणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आवाहन गर्न जौ, गहुँ आदि छरेर त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गरिन्छ । देवीयन्त्र वा अष्टदलकमल बनाई दुर्गायन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातुबाट बनाइएको देवीप्रतिमालाई प्राणप्रतिष्ठा गरी आवरण पूजनसहित भगवती दुर्गाको पूजा प्रारम्भ गर्नुपर्छ

यसै विधिलाई घटस्थापना भनिन्छ यसपछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने कार्य गरिन्छ यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवत आदिको पनि अनुष्ठान प्रारम्भ गर्न सकिन्छ प्रथम दिन नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शन आदि गरिन्छ त्यस वेदीमा पवित्र माटो राखी अङ्कुर (जौ, गहुँ आदि) छरिन्छ, जसलाई जमरा भनिन्छ। माटोमाथि पवित्र जल, आम्रपल्लव, सुपारी, अक्षत, धान्य आदि सहित कलश (घट) स्थापन गरिन्छ। घटमाथि अशोक, आम्र वा पिपलपात राखी नाडी वा दुर्वा सहित देवीको आवाहन गरिन्छ।

शास्त्रीय प्रमाणः

कालिकापुराणमा "आदौ तु कलशः स्थाप्यो यत्र सम्पूज्य सर्वदा । तत्रैव देव्या वासाय कल्पिता परिकीर्तिता अर्थात् प्रारम्भमा कलश स्थापन गरेर देवीलाई त्यसमै आवाहन गर्नुपर्छ।

"कलशे परमं देव्या निवासं परिकल्पयेत् कलशमाथि देवीको परम निवासस्थान बनाउनुपर्छ । मार्कण्डेयपुराण (देवीमहात्म्य)मा नवरात्रादि व्रत, घटपूजन तथा नवदुर्गा आराधनाद्वारा पाप नष्ट भई संपूर्ण कामना सिद्ध हुने भनिएको छ। सर्वान् कामानवाप्नोति महादेव्याः प्रसादतः " नवरात्रमा भक्तिसहित घटस्थापना गर्ने व्यक्तिले देवीप्रसादस्वरूप सबै मनोकामना पूर्ण गर्दछ

जमराको आध्यात्मिक महत्त्वः

जमरा अंकुरण समृद्धिको प्रतीक हो। पहेँलो जमरा देवीको जीवनदायिनी शक्ति (शक्ति-बीज) को प्रतीक हो।अन्नसमृद्धि, स्थैर्य आयुष्यमङ्गल को कामना गर्ने कर्मस्वरूप जमरा राखिन्छ। नेपालमा दशैँको प्रारम्भ घटस्थापनाद्वारा औपचारिक प्रारम्भ हुन्छ। परिवार एकत्रित भई देवीपूजा, जमरा राख्ने तथा दैनिक पूजनद्वारा एकात्मता, श्रद्धा संस्कार दृढ हुन्छ। दशमीका दिन देवीको प्रसाद स्वरूप जमरा लगाई मान्यजनबाट आशीर्वाद लिँदा समृद्धि, आरोग्य सामाजिक सद्भाव ईश्वरीय शक्तिको वृद्धि हुने धार्मिक मान्यता रहेको

अन्त्यमा

घटस्थापना वा जमरा राख्ने दिनले गहिरो आध्यात्मिक सन्देश बोकेको छ। शास्त्रमा यसलाई देवीको आवाहन पूजनको मूलाधार मानिएको छ। जमरा जीवनशक्ति समृद्धिको प्रतीक मानेर देवीप्रसादस्वरूप ग्रहण गरिन्छ। अतः घटस्थापना वा जमरा राख्ने दिन नवरात्र-पूजनको आधारस्तम्भ दशैँ पर्वको आधिकारिक प्रारम्भिक बिन्दु हो

Pandit Narayan Dahal
Pandit Narayan Dahal

Pandit Narayan Dahal is a respected Hindu priest known for his deep knowledge of Vedic traditions and his sincere approach to spiritual service. With years of experience performing a wide range of Hindu rituals, pujas, and ceremonies, he is valued for conducting services with authenticity, clarity, and devotion.