प्राच्य शास्त्रहरूमा भोजनलाई केवल शरीर पोषण गर्ने माध्यम मात्र नभई एक 'यज्ञ' (प्राणाग्निहोत्र) का रूपमा लिइएको छ। "आहारशुद्धौ सत्त्वशुद्धिः" अर्थात् आहार शुद्ध भएमा अन्तःकरण शुद्ध हुन्छ भन्ने उपनिषद्को वचनले भोजन विज्ञानको महत्त्वलाई दर्साउँछ।
आयुर्वेद र धर्मशास्त्रअनुसार भोजनको प्रभाव शरीरका तीन दोष (वात, पित्त, कफ) र मनका तीन गुण (सत्त्व, रज, तम) मा पर्दछ।
कति भोजन गर्ने :
हितभुक्: शरीरको प्रकृति र मौसम अनुसार हितकारी हुने भोजन मात्र गर्ने।
मितभुक्: भोकको आधा भाग अन्न, एक चौथाइ जल र बाँकी एक चौथाइ वायु सञ्चारका लागि खाली राख्ने (मित आहार)।
ऋतभुक्: इमानदारीपूर्वक आर्जन गरिएको र ऋतु अनुसारको ताजा भोजन गर्ने।
भोजन गर्ने शास्त्रीय विधि
शास्त्रले भोजन गर्दा पालना गर्नुपर्ने केही विशिष्ट नियमहरू तोकेको छ:
क) पूर्व तयारी
पञ्च स्नान: भोजन गर्नुअघि दुई हात, दुई खुट्टा र मुख गरी पाँच अङ्ग पखाल्नु (प्रक्षालन) अनिवार्य मानिन्छ।
दिशा विचार: पूर्व वा उत्तर फर्केर भोजन गर्नु सर्वोत्तम मानिन्छ। पूर्वतर्फ फर्केर खाँदा आयु र उत्तरतर्फ फर्केर खाँदा सत्य र लक्ष्मी प्राप्ति हुने बताइएको छ।
ख) मन्त्र र अर्पण
भोजन सुरु गर्नुअघि अन्नलाई देवता मान्दै 'अन्नपूर्णे सदापूर्णे शङ्करप्राणवल्लभे । ज्ञानवैराग्यसिद्ध्यर्थं भिक्षां देहि च पार्वति॥' वा 'ब्रह्मार्पणं ब्रह्म हविर्ब्रह्माग्नौ ब्रह्मणा हुतम् । ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्मसमाधिना ॥' जस्ता मन्त्रले ईश्वरमा अर्पण गर्नुपर्छ। यसले भोजनलाई प्रसादमा परिणत गर्छ र अभक्ष्य दोष निवारण हुन्छ ।
ग) चित्रबलि र पञ्चप्राण आहुति
थोरै अन्न भुइँमा वा थालको छेउमा राखेर भूत-प्राणीहरूका लागि 'बलि' छुट्याउने परम्परा छ।
भोजनको पहिलो पाँच गाँसलाई पाँच प्राण (प्राण, अपान, व्यान, उदान, समान) का लागि 'आहुति' स्वरूप मौन रहेर ग्रहण गर्नुपर्छ।
घ) भोजनको क्रम
सुरुमा मधुर (गुलियो), बीचमा अमिलो र नुनिलो, र अन्त्यमा तितो वा टर्रो रस भएका पदार्थ सेवन गर्नु पाचनका लागि लाभदायक मानिन्छ।
केही महत्त्वपूर्ण नियमहरू
मौनता: भोजन गर्दा धेरै बोल्नु वा हाँस्नु हुँदैन। एकाग्र भएर भोजन गर्दा त्यसको पूर्ण पोषण शरीरले प्राप्त गर्छ।
बसेर भोजन: सधैँ भुइँमा सुखासनमा बसेर भोजन गर्नु पर्छ। उभिएर वा हिँड्दै खानु शास्त्रीय र स्वास्थ्य दुवै दृष्टिले निषेध छ।
सन्ध्या काल: सूर्योदय र सूर्यास्तको ठीक समय (सन्ध्या) मा भोजन गर्नु हुँदैन।
अन्नको सम्मान: थालमा जुठो छोड्नु अन्नको अपमान मानिन्छ। आफूलाई आवश्यक पर्ने जति मात्र पस्कनु पर्छ।
भोजन गरिसकेपछि 'अमृतापिधानमसि' भन्दै आचमन गर्नु्पर्छ ।
प्रारम्भिक आचमन
भोजन सुरु गर्नुअघि दाहिने हातको गोकर्ण मुद्रा (हत्केलालाई थोरै खुम्च्याएर) बाट तीन पटक पानी पिउँदै यी मन्त्रहरू उच्चारण गरिन्छ:
प्रथम आचमन: ॐ केशवाय नमः (यसले कायिक शुद्धि गर्छ)
द्वितीय आचमन: ॐ नारायणाय नमः (यसले वाचिक शुद्धि गर्छ)
तृतीय आचमन: ॐ माधवाय नमः (यसले मानसिक शुद्धि गर्छ)
त्यसपछि 'ॐ गोविन्दाय नमः' भन्दै हात धुने गरिन्छ।
आपोशन मन्त्र (भोजनको ठीक अघि)
थालमा पस्किएको अन्नको वरिपरि पानीले घेरा हालेर (पर्युक्षण) गर्नुपर्दछ । हातमा थोरै जल लिएर निम्न मन्त्र पढ्दै पिउनुपर्छ। यसलाई 'अमृतोपस्तरणमसि' भनिन्छ, जसको अर्थ "हे जल! तिमी मेरो भोजनको लागि आधार (ओछ्यान) बन" भन्ने हुन्छ:
"ॐ अमृतोपस्तरणमसि स्वाहा ।" - यस मन्त्रले भोजनका लागि जठराग्निलाई जागृत गराउने र अन्नलाई अमृतमय बनाउने विश्वास गरिन्छ।
पृथ्वी, भुवन एवं समस्त प्राणीलाई भोजन अर्पण
पञ्चप्राण (प्राणाय स्वाहा आदि) भन्दा अघि हातमा जल लिएर अन्नको वरिपरि घुमाई (पर्युक्षण) निम्न तीन आहुतिहरू (सानो-सानो गाँस) लिनुपर्छ:
१. ॐ भूपतये स्वाहा (पृथ्वीका पति वा अग्निलाई अर्पण)
२. ॐ भुवनपतये स्वाहा (भुवनका पति वा वायुलाई अर्पण)
३. ॐ भूतानां पतये स्वाहा (समस्त प्राणीका पति वा सूर्यलाई अर्पण)
पञ्चप्राण आहुति (मुख्य विधि)
आचमन गरिसकेपछि भोजनको पहिलो पाँच गाँसलाई पाँच प्राणका लागि 'आहुति' स्वरूप ग्रहण गरिन्छ। यस समयमा बोल्नु हुँदैन:
ॐ प्राणाय स्वाहा: (बुढी औंला, चोर औंला र माझी औंलाले गाँस लिने)
ॐ अपानाय स्वाहा: (बुढी औंला, माझी औंला र साइँली औंलाले गाँस लिने)
ॐ व्यानाय स्वाहा: (बुढी औंला, साइँली औंला र कान्छी औंलाले गाँस लिने)
ॐ उदानाय स्वाहा: (बुढी औंला, चोर औंला र कान्छी औंलाले गाँस लिने)
ॐ समानाय स्वाहा: (सबै औंलाले गाँस लिने)
भोजन पछिको आचमन (उत्तरापोशन)
भोजन समाप्त भएपछि पुनः हातमा जल लिएर निम्न मन्त्र पढ्दै पिउनुपर्छ:
"ॐ अमृतापिधानमसि स्वाहा ।"यसको अर्थ हो— "हे जल! तिमीले खाएको यो अन्नलाई अमृतले छोपे झैँ छोपेर सुरक्षित राख (पूर्ण रूपमा पाचन गर) ।"
यसरी विधिपूर्वक गरिएको भोजनबाट शरीर स्वस्थ र मन इन्द्रियहरू निर्मल रहन्छन् भन्ने शास्त्रीय विश्वास रहेको छ । यसबाट सद्विचार शुद्ध भावना र पाचनतन्त्र पनि सक्रिय रहने हुँदा भोजनको शास्त्रीय विधि अपनाउनु उचित हुन्छ ।